स्याङ्जामा पिङ खेल्ने बिषयमा युवाहरु बीच झडप, एकजनाको मृत्यु – Naya Suchana

स्याङ्जामा पिङ खेल्ने बिषयमा युवाहरु बीच झडप, एकजनाको मृत्यु


कुटपिट गरी हत्या गरेको अभियोगमा स्याङ्गजा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतली बजार नगरपालिका वडा नं -६ पुरीस्वारा बस्ने ३४ वर्षीय टाउके भन्ने ईन्द्रजित गुरुङ र ३४ वर्षीय गिर बहादुर गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार सोमबार राति पुतलीबजार नगरपालिका-६ टक्सार कोल्डाँडा पहिरोस्थित मादक पदार्थ सेवन गरी पीङ खेल्ने क्रममा विवाद भएको थियो ।

सोही विवादको निहुँमा हात हालाहाल हुँदा सोही स्थान बस्ने २९ वर्षीय सूर्य बहादुर गुरुङ गम्भीर घाइते भएका थिए । घाइते गुरुङलाई तत्काल जिल्ला अस्पताल लगिएपनि अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेकोमा उपचारका क्रममा उनको मंगलबार राति मृत्यु भएको हो ।

यता स्याङ्गजाका प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीका अनुसार दशैंको समय खानपीनको कार्यक्रम सकेर पिङ खेल्न गएको र फर्कने क्रममा हानाहान हुँदा घटना घटेको गण्डक न्युजलाई जानकारी दिए । अधिकारीले घटना हुनुमा पुरानो रिसिवी पनि हुन सक्ने बताए ।

प्रहरीले घटनामा संग्लग्न रहेको आशंकामा थप २ जनालाई समेत नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।