स्याङ्जाको सूर्योदय लघुवित्त संस्था लि र कास्कीको टेम्पल ट्रि उत्कृष्ट करदाता – Naya Suchana

स्याङ्जाको सूर्योदय लघुवित्त संस्था लि र कास्कीको टेम्पल ट्रि उत्कृष्ट करदाता


आन्तरिक राजस्व कार्यालय पोखराले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने स्याङ्जा र कास्कीका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आइतबार कार्यालयमा ९ औं राष्ट्रिय कर सप्ताह कार्यक्रम समापनको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।

स्याङ्जा जिल्ला भित्रका कारदाताहरुमा सबैभन्दा धेरै आयकर तिर्ने स्याङ्जाको सूर्योदय लघुवित्त संस्था लि र कास्कीमा सबैभन्दा धेरै आयकर तिर्ने टेम्पल ट्रि रिसोर्ट उत्कृष्ट करदाता सम्मानबाट सम्मानित भएका हुन् । त्यसैगरी कार्यालयमा उत्कृष्ट काम गर्ने कर्मचारी नायव सुब्बा चित्रा ढकाल रेग्मीलाई पनि नगदसहित सम्मान गरिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव विष्णु प्रसाद  नेपाल र आन्तरिक राजश्व कार्यालय पोखरा प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले उनीहरुलाई दोसल्ला, माला र प्रमाणपत्रले सम्मान गरेका हुन्

सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख सचिव नेपालले कर सप्ताहको महत्वका बारेमा बताएका थिए । उनले नेपालमा कर प्रणालीको इतिहाँसको बारेमा बोल्दै विस्तारै कर प्रशासन प्रविधिमैत्री बन्दै गएको बताए ।

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत पोखरेलले विगतका बर्षहरुमा जस्तो यसपाली धुमधामसंग कर सप्ताह मनाउन नपाएपनि स्वास्थ्यका मापदण्ड पालना गर्र्दे सचेतनामुलक कार्यक्रम गरिएको जानकारी दिए ।

कर सप्ताह अन्तर्गत कर सम्बन्धी ब्रोसर वितरण, पृथ्वीनाराण क्याम्पसका प्राध्यापक, विद्यार्थीसंग भर्चुअल बैठक, लेखनाथ उद्योग वाणिज्य संघसंग करको विषयमा अन्तक्रिया, आन्तरिक राजश्व कार्यालयमा पोखरा चेम्बर अफ कमर्सका पदाधिकारीसंग छलफल र अन्तर कर्मचारी व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएका उनले जानकारी दिए ।

सम्मानित संस्थाको तर्फबाट सूर्याेदय लघुवित्तका सञ्चालक गुणाखर सापकोटा र टेम्पल ट्रि रिसोर्टको तर्फबाट सञ्चालक वसन्त गौतमले सम्मान गरेकोमा धन्यवाद ज्ञापन गरे । उनीहरुले करको दर भन्दापनि दायरा बढाउनुपर्ने, कर करले होइन रहरले तिर्ने वातारवरण बनाइनुपर्ने बताए ।

उक्त अवसरमा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, सम्मानित संस्थाका प्रतिनिधिहरु र कार्यालयका कर्मचारीहरुको समेत उपस्थिति थियो ।