सत्ता क्याप्चर गर्ने माधव नेपालको सपना पनि चकनाचुर – Naya Suchana

सत्ता क्याप्चर गर्ने माधव नेपालको सपना पनि चकनाचुर


प्रधानमन्त्री बन्न लाग्नुभएका प्रचण्डको सपना भत्कियो । सत्ता क्याप्चर गर्ने माधव नेपालको सपना पनि चकनाचुर भयो । समाचार स्रोत भन्छ– झलनाथ खनालको अन्तिम सपना पनि भत्किएको छ । प्रधानमन्त्री हटाएपछि राष्ट्रपति पनि हटाउने र झलनाथ राष्ट्रपति बन्ने योजना थियो । 

ad

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरिदिनुभएपछि राज्यसत्ता कब्जा गर्ने प्रचण्ड, माधव र झलनाथहरुको यतिका समयदेखिको डिजाइन फेल भएको छ ।

प्रचण्ड माधव गुटले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन आज संसद्को विशेष अधिवेशनका लागि समावेदन दिँदै थियो । विशेष अधिवेशन आव्हान प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव राख्नका लागि भनेर खुलाइएको पनि थियो । यो खबर पाउनासाथ प्रधानमन्त्री ओलीले आत्मसमर्पण गर्नुभएन । उहाँले पाँच वर्षका लागि जनताले सुम्पिएको नासो जनतालाई नै फिर्ता दिने निर्णय गर्नुभयो । 

प्रतिनिधि सभा विघटनको अर्थ आमचुनावमा जानु हो । अब नेपालको राज्यसत्ता कसले कसरी चलाउने भन्ने निर्णय प्रचण्ड माधवहरुले नभएर जनताले गर्नेछन् । गत आम चुनावमा जनताले केपी ओलीको नाममा मत दिएका थिए । ओलीको नाममा जनताले दिएको मत अपहरण गर्ने प्रयास प्रचण्ड माधवहरुले गर्न खोज्नुभएको थियो । उहाँहरुको त्यो प्रयास असफल भएको छ ।

आफ्नै सरकार ढाल्ने, एक नेतालाई प्रधानमन्त्रीबाट हटाएर अर्काे नेताको रहर पूरा गर्ने दुष्कर्म आज हुन लागेको थियो । प्रचण्ड र माधवले सत्तारोहण हुन अनेक खालका व्यूह रचना गर्नुभएको थियो । उहाँहरुको समूहले सरकारलाई बदनाम बनाउने, प्रधानमन्त्रीलाई बदनाम बनाउन खोज्ने, सरकारलाई छिर्के लगाउने खालका अनेक अभियान चलाउँदै आएको थियो । प्रधानमन्त्रीलाई चक्रव्यूहमा लगभग फसाइएको थियो । तर, अन्तिम क्षणमा केपी शर्मा ओली चक्रव्यूह तोडेर बाहिर निस्कनुभएको छ । अर्थात्, उहाँले प्रतिनिधि सभा विघटनको सिफारिस गर्नुभएको छ ।

प्रचण्ड माधव पक्षले सरकार ढाल्न सभामुख जस्तो निष्पक्ष पदमा रहनुभएका अग्निप्रसाद सापकोटालाई समेत प्रयोग गरेको थियो । ओलीलाई ढालेर प्रचण्ड माधव खेमाको हातमा सरकार लैजान सहयोग गरेमा अदालतमा विचाराधीन आफू विरुद्धको ज्यान मुद्दा जितिने सापकोटाले सपना देख्नुभएको थियो । तर, प्रतिनिधि सभा विघटनसँगै नयाँ रानजीतिक कोर्स सुरु भएको छ । 

नयाँ राजनीतिक कोर्सले धेरैको सपना भताभुंग बनाइदिएको छ ।